काठमाडौं- संसद विघटनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ ।
नेकपा प्रचण्ड-माधव समूहले गठन गरेको केन्द्रीय संघर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटनको विरुद्धमा विरोधपत्र र नेपालको संविधान-२०७२ पठाएको हो ।
काठामाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठाएको छ ।
नेकपा काठमाडौं जिल्ला कमिटीका इन्चार्ज सावित्रा भुसालले केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको बताइन् ।