काठमाडौं- पशुपतिनाथलाई चिसोबाट जोगाउन आज दिनभर मूल मन्दिरमा धनुर्मास पूजाआराधना गरिँदै छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मास अनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ ।
भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवम् रातभर पूजा गरिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाको भनाइ छ ।
यही पुस १५ देखि अगामी माघ २९ सम्म सौर र चान्द्र दुवै गणना पद्धति अनुसार पुस महिना परेको छ । पार्वतीसहितका शिवजीलाई जाडोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा बसेकाले पूजापछि शरीरमा ताप दिने खाद्य पदार्थ चाकु, सखर र खिचडी लगायत प्रसादका रुपमा चढाउने परम्परा छ ।
यस पूजामा पशुपतिनाथका मूलभट्ट र पशुपतिनाथ अमालकोट कचहरीका द्वारे लगायत सहभागी हुनुपर्ने विधि छ । आज बिहानदेखि आइतबार बिहानीपखसम्म धनुर्मास पूजा गरेपछि आइतबार दिनभर मूल मन्दिर भक्तजनका लागि बन्द गरिने कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले जानकारी दिए ।
आइतबार बिहान ६ बजेदेखि शिवपार्वती पनि घाम ताप्न जाने विश्वासमा मन्दिर बन्द गर्ने गरिएको हो । धनुर्मास पूजाका दिन पशुपतिनाथमा नित्य एवं नैमित्तिक भोगसमेत लाग्दैन ।
मानव शरीरमा भएका विभिन्न चक्रलाई खुसी पार्न महिना अनुसारका खाद्य परिकारको वर्णन शास्त्रमा गरिएको छ । जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास पूजा भनिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.विदुर पौडेलको भनाइ छ ।
पूजापछि भगवान शिव पार्वतीसहित कैलाशमा घाम ताप्न जाने भएकाले ढोका बन्द गर्ने गरिएको उनले सुनाए । तन्त्र शास्त्रमा धनुर्मास पूजा विधिका बारेमा उल्लेख गरिएको जनाइएको छ ।