ट्वीटर कम्पनीले सधैंका लागि बन्द गरिदियो ट्रम्पको ट्वीटर ह्यान्डल-Sutra News

ट्वीटर कम्पनीले सधैंका लागि बन्द गरिदियो ट्रम्पको ट्वीटर ह्यान्डल

शनिबार, २५ पौस २०७७

शनिबार, २५ पौस २०७७

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द भएको छ । ट्वीटर सञ्चालक कम्पनीले ‘एटदरेटरियलडोनाल्डट्रम्प’ नामक उनको  खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो ।



उनको ट्वीटर खाताबाट हिंसा फैलिने खतरा भएकाले हटाइदिएको कम्पनीका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।  ट्वीटरको भिडियो सम्वन्धी नीति विपरितको भिडियो उनले राखेकाले  खाता हटाउन बाध्य भएको कम्पनीको भनाइ छ । 

अमेरिकाको संसदमा उनका समर्थकहरुले गरेको हिंसात्मक घटनासम्वन्धी भिडियो उनले ट्वीटरमा राखेपछि उनको सर्वत्र आलोचना भएको थियो । उनले हिंसा मच्चाउनेलाई देशभक्तको संज्ञा दिएपछि उनीविरुद्धको आक्रोश थप बढेको थियो ।

ट्वीटरमा उनले राखेको भिडियो हटाउन सर्वत्र दवाव आएपछि ट्वीटरले सुरुमा भिडियो हटाइदिएको थियो ।  त्यसपछि पनि उनले ट्वीटरको दुरुपयोग गरेको भन्दै ट्वीटरले उनको खाता केही समय बन्द गरिदिएको थियो । 

अहिले भने सधैँका लागि बन्द गरिदिएको हो । राष्ट्रपति ट्रम्पले राज्यशक्तिको दुरुपयोग गरेको र लोकतन्त्रलाई खिल्ली उडाएको भन्दै धेरैले आलोचना पनि गरेका थिए ।  अमेरिकाका केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए ।

बिहीवार पूर्वराष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको ‘राक्षसी व्यवहार’ माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताएका थिए । 

अमेरिकी संसद्ले राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितलाई औपचारिकता दिने प्रक्रिया अगाडि बढाइरहेका बेला ट्रम्पका सयौँ समर्थकहरूले संसद भवनमा प्रवेश गरेर हिंसा मच्चाएका थिए । हिंसामा परी चारजना सर्वसाधारण र एक प्रहरी अधिकारीको मृत्यु भएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट