अदालतमा विचाराधिन मुद्दामा जुलुश निकालेर दवाब दिनु हुँदैन, कांग्रेस निर्वाचनको पक्षमा छः देउवा-Sutra News

अदालतमा विचाराधिन मुद्दामा जुलुश निकालेर दवाब दिनु हुँदैन, कांग्रेस निर्वाचनको पक्षमा छः देउवा

शनिबार, २५ पौस २०७७

शनिबार, २५ पौस २०७७

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय मान्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले अदालतले जुन निर्णय गरेपनि मान्नुपर्ने बताएका हुन् ।



अदालतमा विचाराधिन मुद्दामा जुलुश निकालेर दवाब सिर्जना गर्न नहुने उनको भनाइ छ । जुलुशको आधारमा अदालतले निर्णय गर्ने नभई अदालतले विवेक पुर्याएर संवैधानिक मूल्य र मान्यता अनुसार निर्णय गर्ने उनले बताए ।

निर्वाचन भयो भने निर्वाचनमा जान नेपाली कांग्रेस तयार रहनुपर्ने उनले बताए । जनतामा जाँदा केही नबिग्रिने भन्दै सभापति देउवाले अदालतभन्दा ठूलो जनता भएकोले जनतामा जाने मौका आउँदा कांग्रेस भाग्नु नहुने उनको भनाइ छ । देशमा कम्युनिस्ट शासनबाट मुक्ति पाउन र प्रजातन्त्रको रक्षाको लागि जनताको जानुपर्ने उनले बताए ।

अदालतले निर्वाचनमा जाने निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराएनन् भने नेपाली जनताले ओलीलाई सडकबाटै हटाउन बाध्य हुने उनको भनाइ छ । निर्वाचन नगरे प्रधानमन्त्री ओलीलाई जनताले नेपालमा बस्नै नदिने अवस्था बनाउन सक्ने उनले बताए । प्रधानमन्त्री ओलीले निर्वाचन गराउने प्रतिवद्धता जनाएको भन्दै उनले निर्वाचन हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट