काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक प्रतिगामी कदम खारेज गरेर प्रतिनिधिसभा सुचारु गर्न नसके देशमा चुनाव पनि नहुने, संसद पनि नहुने र देश प्रतिगमनतर्फ जाने बताएका छन् ।
शनिबार काठमाडौंमा आफ्नो समूहका सम्पर्क समन्वय कमिटीद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै श्रेष्ठले सो कुरा बताएका हुन् ।
पार्टीहरुबीच संयुक्त संघर्ष गर्नुपर्ने र संयुक्त संघर्ष हुन नसके समन्वय गरेर भएपनि आन्दोलन गर्नुपर्ने श्रेष्ठले बताए ।
इतिहासमा पुर्खाहरुले सुन्दर देश सुम्पिएर गएको तर विभिन्न कालखण्डमा जन्मिने तानाशाहहरुको कारण देशमा समृद्धि आउन नसक्दा तिनै पुर्खा, सहिद र आम नागरिकलाई जवाफ दिने ठाउँ नरहेको पनि बताए ।
लोकतन्त्रको निम्ति लडनेहरु भित्रैबाट लोकतन्त्रका लुटेराहरु जन्मने, लोकतन्त्रलाई अपहरण गर्ने र फेरि पनि प्रतिगमन हुने स्थितिको अन्त्य हुनै पर्ने नेता श्रेष्ठले बताए ।
प्रतिगमनको खतराबाट देशलाई बचाउन सबैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने पनि बताए ।