लहान- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि मुलुक संकटमा धकेलिएको बताएका छन् ।
सिरहास्थित कर्जन्हा नगरपालिकाको बस्तीपुरमा आज आयोजित किसान नेता जयगोविन्द साहको ३१ औंँ स्मृतिसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ‘सरकार पूँजीवादको बाटो समाएर अगाडि बढिसकेकाले’ वर्तमान नेतृत्वमा समाजवाद आउन नसक्ने बताए ।
उनले पार्टी हित विपरीत गतिविधि देखाएकाले प्रधानमन्त्रीलाई कारबाही गरिएको स्पष्ट गरे । ‘पार्टीलाई एकताको भावनानुरुप तथा विधि र पद्धतिअनुरुप अघि बढाउन आग्रह गर्दा अध्यक्ष केपी शर्मा ओली त्यस विपरीत अघि बढ्न चाहेकाले यस्तो परिस्थिति आएको’ उनले भने ।