ललितपुर- ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई रु ५० लाख हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष किरण चित्रकारलाई शनिबार कात्तिक नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न सो मूल्य बराबरको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख महर्जनले गत वर्ष आफूले अक्षयकोष स्थापना गर्न रकम सहयोग गर्ने वचन दिएसँगै यस वर्ष भने रु ५० लाख दिन सफल भएको बताए । उनले भने, ‘विष्णुपुराणमा आधारित यस नाचले जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिने भएकाले सदियौँसम्म जोगाइराख्नुपर्नेछ ।’
यसैगरी वडा नं २१ खोकनामा नाचिने ‘रुद्रायणी नाच’ र वडा नं २९ हरिसिद्धिमा मनाइने हरिसिद्धि भवानीको जात्रा एवं नाच’ संरक्षणका लागि रकम सहयोग गर्ने योजना बनाइरहेको उनले जानकारी गराए ।
समितिका अध्यक्ष चित्रकारले सो नाचको माध्यमद्वारा देशमा आउने विघ्नबाधा हटि शान्ति र सुव्यवस्था कायम रहने विश्वास रहँदा कोष स्थापना गर्न सहयोग पुगेको धारणा राखे ।