काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्ने वातावरण नभएर प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै सो कुरा बताएका हुन् ।
‘प्रतिनिधिसभा विघटन भएको छ । देश निर्वाचनतर्फ गएको छ । प्रतिनिधिसभा पाँच वर्ष चल्लनेछ । यसमा विनाबिग्रह संविधानको रक्षा र कार्यान्वयन सरकारलाई काम गर्ने वातावरण भएन । काममा व्यवधान भयो । झमेला मात्रै भयो । केही व्यक्तिका आकांक्षाहरू, महत्वकांक्षाहरू र पदको लोभजस्ता कुराहरूले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित गर्न खोजियो । ’
आफूले ५ वर्ष सरकार टिकोस् भनेर हरप्रयास गरेको तर सफल नभएको पनि प्रधानमन्त्री ओलीले बताए । ‘सरकार परिवर्तन होस् भन्ने चाहना होइन, जनताको । अस्वस्थ्य ढंगले सरकार चल्नुलाई स्थायित्व र स्थिरता भनिदैन’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले निर्वाचन भन्ने बित्तिकै केही मानिसहरूको सातो गएको पनि बताए । उनले भने, ‘निर्वाचन भन्ने बित्तिकै सातो किन गयो ? जनताका बिचमा जाने भन्ने बित्तिकै, ताजा जनादेश लिने भन्ने बित्तिकै ! अन्त कहिं जाने भनेको त होइन नि ! अरू कुनै प्रभूको चरणमा जाने भनेको त होइन नि ! जनताका शरणमा जाने भनेको हो । जनताको बिचमा जाने भनेको हो । जनताको अभिमत लिने भनिएको हो । केपी ओलीले गल्ती गरेको रहेछ भने नेपाली जनताले त्यसको दण्ड देलान् । जनताको बिचमा गएर केपी ओलीलाई दण्ड दिने काम गर्नुहोस् न ! जानुस् । जो जोलाई चित्त बुझेको छैन । तपाईंहरूलाई जनताले जवाफ दिएर पठाउँछन् ।’