काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले वैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई आइतबार गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनमा जुट्न निर्देशन दिएका हुन ।
‘तपाईंहरुको क्षमतालाई विश्वास गर्दै सरकारले बढुवा गरेको छ, त्यो विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्’, उनले भने । प्रहरीको काँधमा एकातर्फ निर्वाचनको लागि आवश्यक तयारी गर्ने र अर्कोतर्फ सम्भावित आन्दोलनको नियन्त्रण गर्ने दायित्व आएको उनको भनाइ थियो ।
‘लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाइन्छ तर शान्ति सुरक्षा र सुव्यवस्थामा असर पार्ने गरी प्रदर्शन गर्न पाइँदैन’, उनले भने ।
गृहमन्त्री थापाले पछिल्लो समय सुरक्षा चुनौती बढेको बताउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा योजना बनाउन निर्देशन दिए । सो अवसरमा गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।