काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको राजनीतिक अवस्थाको समीक्षा गर्ने बेला आएको बताएका छन् । शाहले अहिलेको राजनीति इमानदारी र जनहितमा आधारित नभएको पनि बताएका छन् ।
पृथ्वीजयन्तीको अवसरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले मुलुकले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहितअनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भइसकेको छ ।’
परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप देशमा भित्रिएको उनको आरोप छ । राजनीति भन्नु नै देशसेवाको उच्चतम साधन रहेको उनले उल्लेख गरेका छन् ।
देश कसरी जोगाउने भन्ने विषयले आफू चिन्तित रहेको पूर्वराजा ज्ञानेन्द्रको भनाइ छ ।
‘यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ,’ उनले भनेका छन्, ‘देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरूप व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन् । हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ ।’
जनचाहनाअनुसार शाह वंशले निर्णय लिँदै आएको जिकिर गर्दै उनले अहिलेको व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।