फिदिम- पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ७० लाखको क्षति भएको छ ।
कुम्मायक-१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागीबाट थापाको तीनतले घर, अर्को दुईतले भान्छाघर, चौपाया राख्ने एकतले ग्वाली, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।
यस्तै डिकबहादुर थापाको घर, चौपाया राख्ने एकतले ग्वाली, चौपाया भेडा एउटा, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको उनले बताए ।
स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले तीन घण्टापछि आगो निभाएको थियो ।