गोरखा- २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।
नेपाल एकीकरण गरेका राजा पृथ्वीनारायण शाहको जन्मथलो गोरखा नगरपालिकाका साथै पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यवतीका जेठा छोराका रूपमा वि.सं १७७१ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको इतिहास छ ।