फ्रान्समा कोरोना संक्रमितको संख्या घट्याे-Sutra News

फ्रान्समा कोरोना संक्रमितको संख्या घट्याे

सोमबार, २७ पौस २०७७

सोमबार, २७ पौस २०७७

फ्रान्स- फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्ला केही दिनयता आएर घटेको देखिएको छ । अघिल्लो करिब दुई हप्ता अघिसम्म झन् बढेको अवस्थामा रहेका कोभिडका संक्रमितहरु पछिल्लो समयमा आएर भने घटेको पाइएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।



उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु घट्दै गएको देखिएको बताएका हुन् । पछिल्लो पटक अर्थात् आइतबार फ्रान्समा १५ हजार भन्दा केही बढी संक्रमित देखिएका बताइएको छ । आइतबार मात्र फ्रान्समा १५ हजार ९४४ जनामा कोभिडको संक्रमण पाइएको हो । तर अधिकारीहरुले भने यही जनवरी ३ तारिखपछि यो संख्या सबैभन्दा कम भएको बताएका छन् ।

आइबार देखिएको यो संख्या पछिल्लो हप्ता यताकै सबैभन्दा कम भएको फ्रान्सको पब्लिक हेल्थ एजेन्सीले जनाएको छ । सो एजेन्सीले आइतबार यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १५१ मात्र रहेको पनि जानकारी दिएको समाचारमा जनाइएको छ ।

गएको शनिबार मात्र २० हजारभन्दा बढी नागरिकमा नयाँ संक्रमण देखिएको जनाएको थियो भने आइतबार यस संख्यामा उल्लेख्य मात्रामा कमी आएको पाइएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले बताएको थियो ।

महामारी सुरु भएदेखि यताको संख्या हेर्दा २७ लाख ८३ हजार भन्दा बढीमा यो संक्रमण देखिएको बताइएको छ । उक्त एजेन्सीले फ्रान्सको यो संख्या युरोपेली देशहरुकै दोस्रो ठूलो संख्या हो भनेको छ । युरोपेली देशहरुमध्ये सबैभन्दा धेरै कोभिडका संक्रमितहरुको संख्या बेलायतमा बढी देखिएको छ ।

उक्त एजेन्सीले दिएको जानकारीअनुसार फ्रान्समा ५७ हजार ७५० जनाको यस संक्रमणबाट ज्यान गएको छ । अहिले पनि हरेक दिन नागरिक यो संक्रमणका कारण ज्यान गुमाइरहेका बताइएको छ ।

शनिबारसम्मको तथ्यांक हेर्दा २४ हजार ५५९ जना विरामी अस्पतालमा उपचार गराइरहेका देखिएको छ । तीमध्ये पनि २ हजार ६२९ जनालाई आइसियुमा राखेर उपचार गराइएको पनि फ्रान्सको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

फ्रान्सका अधिकारीहरुले पनि पछिल्ला केही हप्तायता बेलायतमा जस्तै कोरोना भाइरसको दोस्रो लहरको संक्रमण सुरु भएको जनाएका थिए । त्यसका कारण धेरै जसो सेवा क्षेत्रहरुमा लकडाउन गरिएको छ । लकडाउनका कारण जनजीवन पनि निकै नै प्रभावित भएको राजधानी पेरिसबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट