काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् ।
सोमबार पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली दिन जुलुससहित सिंहदरबार पश्चिमगेट स्थित शाहको शालिकमा पुगेका विभिन्न संघसंस्थाका व्यक्तिहरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले लाठिचार्ज गरेपछि प्रतिक्रिया दिदैँ अध्यक्ष राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताए ।
उनले मुलुकका निर्माता पृथ्वीनारायण शाहलाई कदर गर्न आउँदा दमन भएको भन्दै सरकारले प्रजातन्त्र तथा लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताए । अध्यक्ष राणाले सरकारमा बस्नेहरु राष्ट्रप्रति इमान्दार र बफादार बन्नुपर्ने बताउँदै मुलुकमाथि अत्याचार भएको भन्दै उनले अन्याय र अत्याचारविरुद्ध राप्रपा विरोधमा उत्रिने बताए ।
नेपालमा हिन्दु धर्म पुर्नस्थापित हुनुपर्ने र लोकतन्त्र जोगाउन पुरानो राजसंस्था आवश्यक रहेको बताए । पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम ढोका स्थित पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता कार्यकर्ता जुलुस सहित पुगेका थिए । भिडलाई तितरबितर पार्न प्रहरीले लाठिचार्ज गरेको थियो ।