रुकुमपूर्वमा स्वास्थ्य शिविरः पाठेघर सम्बन्धी पीडित बिरामीले पाए उपचार-Sutra News

रुकुमपूर्वमा स्वास्थ्य शिविरः पाठेघर सम्बन्धी पीडित बिरामीले पाए उपचार

मंगलबार, २८ पौस २०७७

मंगलबार, २८ पौस २०७७

रुकुमपूर्व- रुकुमपूर्वको सिस्ने गाउँपालिका-१का नागरिकले घरआगनमा पहिलोपटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम-पश्चिमको प्राविधिक सहयोगमा  स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएका हुन् । 



दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट दुईसय २१ ले सेवा पाएका थिए । शिविरमा सेवा लिनेमा पुरुष भन्दा महिलाको संख्या दोब्बर भन्दा बढी रहेको छ ।  शिविरबाट ७०  पुरुष र एक सय ५१ जना महिलाले सेवा लिएका कार्यक्रमका संयोजक लिलामणि गौतमले जानकारी दिए । 

शिविरमा भिडियो एक्सरे गरिनुका साथै स्त्री रोग सम्बन्धी सम्पूर्ण रोगहको जाँच तथा उपचार, मुटुरोग, रगत, मधुमेह, रगत, खकार जाँच समेत गरिएको थियो । शिविरमा ८० को भिडियो एक्सरे गरिएको थियो । पाठेघर सम्बन्धि समस्या भएका नौलाई नेपालगञ्ज रिफर गरिएको छ । उनीहरुको त्यहाँ निशुल्क उपचार गरिने छ ।

यस्तै दुईमा एचआइभी पोजेटीभ देखिएको छ भने एक जना हेपाटाइटीसका बिरामी फेला परेका छन् ।  शिविरमा सबैभन्दा बढी पाठेघर बाहिर निस्केका र सुत्केरी हुँदा पाठेघर च्यातिएर अहिलेसम्म पनि पानी र रगत बगिरहने समस्याका बिरामी भेटिएका उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन् । 

एचआइभी पोजेटीभ देखिएका दुई जनालाई भने रुकुमपूर्व अस्पतालमा रिफर गरिएको छ । शिविरमा स्त्री रोग विशेषज्ञ डा.रामकुमार दास, जनरल फिजिसीयन डा.अरविन्दकुमार यादव लगायत अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए । 

जिल्लाको दुर्गम क्षेत्रमा सञ्चालन गरिएको उक्त शिविर त्यहाँका नागरिकको लागि वरदान सावित भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन् ।  सदरमुकाम आउन पनि हिंडेर एकदेखि दुई दिनसम्म लाग्ने त्यहाँका नागरिकलाई घरआगनमै गएर स्वास्थ्य सेवा दिएपछि खुसी भएका छन् । 

निरन्तरको दुई दिनको पैदल यात्रापछि स्वास्थ्यकर्मीको टोली वडा नं १ को भट्टेचारैमा पुगेर शिविर सञ्चालन गरेको हो भने औषधि पनि बोकेरै पुर्याइएको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट