काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनिफङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच मध्यस्थता वार्ता गर्न सक्ने दाबी गरेका छन् । भारतीय टेलिभिजन जीन्युजमा सोमबार अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले हिन्दीमा भने, ‘म सी र मोदीबीच मध्यस्थता गर्न सक्छु ।’ तपाईं सी र मोदीबीच मध्यस्थता गराउन चाहनुहुन्छ ? पत्रकारको प्रश्नमा ओलीले जवाफ दिए, ‘अवश्य ! हामी साथी हौं र उमेरमा एक दुई वर्षले मात्र फरक छौं । म दुवै पक्षलाई वार्तामा बसौं भन्न सक्छु ।’
चीन र भारतबीच तनाव उत्कर्षमा पुगेका बेला ओलीले भने आफूले दुई छिमेकीबीच मध्यस्थता गराउन सक्ने दाबी गरेका हुन् । अन्तर्वार्तामा पनि ओलीले सन्दर्भ बाहिरका भनाइ नै धेरै राखे, जुन प्रायः उनको मन्तव्य र अन्तवार्तामा आउने गर्छ ।
ओलीले आफूले दुई छिमेकीसँग समस्यारहित सौहार्दपूर्ण सम्बन्ध चाहेको बताए । ‘दुई ठूला छिमेकी लडे भने हामी समस्यामा पर्छौं । हामी दुवै छिमेकीबीच विश्वासको सम्बन्ध होस् भन्ने चाहन्छु’, ओलीले भने, ‘नेपाल तटस्थताको नीतिमा चल्छ, कसैको पक्ष लिँदैन । हामी कसैको विरुद्ध हाम्रो जमिन, हाम्रो आकाश प्रयोग हुन दिँदैनौं ।’