पोखरा- प्रचण्ड-नेपाल पक्षको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज) केपी ओलीले छाडेको बताएका छन् ।
मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
पार्टी एकताका बेला दुईवटा पार्टीको लाइनका विषयमा भएको लामो बहसमा माधव नेपालले अहिले नै जबज छोड्दा राम्रो हुँदैन भन्ने धारणा राखेको बताउँदै प्रचण्डले ओलीले नै जनताको बहुदलीय जनवाद छाडेर समाजवादउन्मुख जनताको जनवादमा सहमति गरेकाे बताए ।
प्रचण्डले जनतालाई भेडाबाख्रा नठान्न प्रधानमन्त्री ओलीलाई चेतावनी पनि दिएका छन् । उनले भने, ‘म चुनौती दिएर भन्न चाहन्छु कमरेड केपी ओलीलाई । तपाईंले हास्यव्यंग्य गरेर मान्छेलाई प्रहसन गराएर दुनियाँलाई उल्लू बनाउन सकिन्छ भन्ने ठान्नुभएको छ ? जनतालाई भेडाबाख्रा ठान्नुभएको छ तपाईंले ? हजारौँ सहिदहरुको बदिदान, त्याग र तपस्यालाई ठट्टा ठान्नुभएको छ ?’
ओलीले पार्टीभित्र विवाद भयो भनेर सार्वभौम संसदमाथि प्रहार गरेको प्रचण्डको भनाइ छ । उनले भने, ‘पार्टी भित्र विवाद भयो भनेर सार्वभौम नेपाली जनताले चुनेर पठाएको सार्वभौम संसदमाथि प्रहार गर्ने कहीँकतै हुन्छ त ? उहाँले यसको जवाफ दिनसक्ने ठाउँ नै छैन । कहीँकतै बोल्ने ठाउँ नै छैन ।’
सत्ता र शक्तिको प्रयोग गरेर मानिसहरुलाई धम्काउने, तर्साउने तथा पार्टी एकताको मर्म र भावनामाथि प्रहार गर्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको प्रचण्डले आरोप लगाए ।
प्रचण्डले बहुमत केन्द्रीय सदस्य आफूसँग रहेकाले पार्टीको नाम र सूर्य चिन्ह नपाउनेमा दुविधान नपाल्न आग्रह गरे । उनले अहिलेको कानुनले स्वत आधिकाकिरता आफ्नो पक्षले पाउने दिए नपाएमा आँधीबेरी ल्याउने चेतावनी दिए ।