कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा विघटनले राष्ट्र, राष्ट्रियता, संविधान र संघीयता खतरामा पुगेको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले यस गम्भीर परिस्थितिलाई सुल्झाउने जिम्मेवारी न्यायालयको काँधमा आइपुगेको बताए ।
मुख्यमन्त्री शाहीले भने, ‘मुलुकमा स्थायी सरकार, समृद्धि र विकासका लागि मध्यावधि निर्वाचन समाधान होइन ।’
प्रतिनिधिसभा विघटनको नजीर बस्नु राम्रो नभएको उनले बताए । उनले अहिले सामना गरिरहेको अवस्थाबाट अघि बढे देशमा धेरै प्रधानमन्त्री बन्ने तर मुलुक अस्थिर राजनीतिको चंगुलमा फस्ने तर्क गर्दै यसले मुलुकको विकास १० वर्षपछि धकेलिने जनाए ।
मुख्यमन्त्रीले रणनीतिक महत्वका योजना बन्न नसके पनि कर्णालीमा शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारको विकास हुँदै गएको जनाए । उनले कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पनि केही दिनपछि विस्तार गरिने जनाए ।