Logo

आइतवार, माघ ११ गते २०७७

जी न्युजको निशानामा नेपालको सत्ता कि सगरमाथा ?

जी न्युजको निशानामा नेपालको सत्ता कि सगरमाथा ?

सूत्र न्यूज

२९ पौष २०७७
  • 94
    SHARES
  • जी न्युजको निशानामा नेपालको सत्ता कि सगरमाथा ?

    काठमाडौं- भारतीय टेलिभिजन जी न्युजले नेपालको सगरमाथा भारतले दाबी गर्नुपर्ने बताएको छ । जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नाम परिवर्तन गरेर ‘सगरमाथामा भारतले पनि दाबी गर्नुपर्ने’ बताएको भिडियो ‘भाइरल’ भएको छ ।

    जी न्युजले प्रसारण गरेको एक मिनेट १८ सेकेन्डको भिडियोमा चौधरीले भनेका छन्, ‘मेरोअगाडि माउन्ट एभरेस्ट छ । मलाई विश्वासै लागेको छैन कि हामी यति नजिक आउन सक्छौँ । आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ । हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपर्थ्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्‍ने ।’

    प्रधान सम्पादक चौधरीले सोमबार (२७ पुस) मा केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका थिए । प्रधानमन्त्री ओलीले अन्तर्वार्ताका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका थिए ।

    ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूभन्दा उमेरले केही वर्ष जेठो भए पनि प्रधानमन्त्रीको हैसियतमा बस्दा दाजु भाइ, ठूलो देश र सानो देशको नभई समान हैसियत हुने तर्क गरेका थिए ।

    प्रधानमन्त्रीले हिन्दीमा भनेका थिए, ‘म सी र मोदीबीच मध्यस्थता गर्न सक्छु ।’ तपाईं सी र मोदीबीच मध्यस्थता गराउन चाहनुहुन्छ ? पत्रकारको प्रश्नमा ओलीले जवाफ दिए, ‘अवश्य ! हामी साथी हौं र उमेरमा एक दुई वर्षले मात्र फरक छौं । म दुवै पक्षलाई वार्तामा बसौं भन्न सक्छु ।’

    ओलीले आफूले दुई छिमेकीसँग समस्यारहित सौहार्दपूर्ण सम्बन्ध चाहेको बताएका थिए । ‘दुई ठूला छिमेकी लडे भने हामी समस्यामा पर्छौं । हामी दुवै छिमेकीबीच विश्वासको सम्बन्ध होस् भन्ने चाहन्छु’, ओलीले भने, ‘नेपाल तटस्थताको नीतिमा चल्छ, कसैको पक्ष लिँदैन । हामी कसैको विरुद्ध हाम्रो जमिन, हाम्रो आकाश प्रयोग हुन दिँदैनौं ।’

    प्रधानमन्त्री ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौमता बराबरी हुने बताएका थिए । दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभइ समान हुने स्पष्ट पारेका थिए ।

     

     

     


    प्रकाशित :पौष २९, २०७७ बुधवार - १०:५९:५५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.