काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका छन् ।
बुधबार काठमाडौंमा बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ७० वर्षदेखि लडेर ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका हुन् ।
‘लोकतान्त्रिक गणतन्त्रका लागि त्याग बलिदान गर्ने हामीहरू यतिबेला गम्भीर भएका छौं । हाम्रौ आँखा अगाडि यति निर्मम निरंकुश ढंगले प्रहार भएको हामीले देखेका छौं । संविधानमाथि र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि यो प्रहार हामी दुःखको साथ, पीडाको साथ पनि उपस्थित छौं । किनकी, हाम्रै पार्टीको, हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट, हामीले हिजो अध्यक्षमा निर्वाचित गरेको अध्यक्षबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको छ,’ भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने ।
प्रचण्डले प्रतिनिधि सभा विघटनपछि राष्ट्र र जनतामा देखा परेको संकटलाई समधान गर्ने उपयबारे र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएको बताए ।
‘हामी यहाँ कुनै प्रहसन देखाउन जुटेका छैनौँ, हामी यहाँ उखानटुक्का गरेर हँसाउनका लागि कमेडी शो गर्न पनि उपस्थित भएका छैनौँ, हामी मानिसहरुलाई दिग्भ्रमित पार्ने, उद्देलिन पार्ने, उत्तेजित पार्ने पार्नै कुराका निम्ति पनि यहाँ जुटेका होइनौँ’, अध्यक्ष प्रचण्डले भने, ‘हामी आज राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान गर्ने उपयबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएका छौँ ।’