झापा- नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको नाम र चुनाव चिन्ह प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूहले नै पाउने दाबी गरेका छन् ।
झापाको बिर्तामोडमा पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड-माधव समूहले पार्टी नाम र चुनाव चिन्ह नपाउने बताए । उनले भने, ‘पार्टीको अध्यक्ष जो हो उस्ले नेतृत्व गरेको समूहले पार्टीको नाम र चुनाव चिन्ह पाउँछ । यो अरुको हुनै सक्दैन ।’
अघिल्लो चुनाव अघि मिलेर चुनाव गरेर जाने भन्ने विषयमा तत्कालीन नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्दादेखि नै पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्घेल्याईं सुरू गरेको नेता पोखरेलको आरोप थियो । चुनावपछि बनेको पहिलो सरकारमा तीन सदस्यीय मन्त्रिमण्डल बनेको त्यसैको उपज भएको उनले बताए ।
पोखरेलले भने, ‘तर प्रधानमन्त्री ओलीले पार्टी एकतालाई जोगाउन जस्तोसुकै सहमति गर्न तयार छु भनेर जुनसुकै सहमतिमा हस्ताक्षर गर्नुभयो ।’