पाँचथर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताएका छन् ।
पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरिएको उनको भनाइ छ ।
फिदिम नगरपालिकाको आठौँ नगरसभाको बुधबार उद्घाटन गर्दै उनले प्रतिनिधिसभामा ६४ प्रतिशत मत रहे पनि सरकार सबैतिरबाट अप्ठ्यारोमा परेपछि जनतामा जाने विकल्प रोजिएको जानकारी दिए ।
‘पार्टीभित्रैबाट सरकारलाई चल्न नदिने अवस्था आएपछि मुलुकलाई जकट्याएर राख्नुहुन्छ ?’, उनले प्रश्न गरे, ‘पार्टीबाट उत्पन्न गरिएका समस्या सरकारले कहाँ राख्ने ? त्यसैले जनतामा जानुपरेको हो ।’
अभिमत लिन जनतामा जाने कुराभन्दा वैधानिक र लोकतान्त्रिक काम अरु हुन नसक्ने जनाउँदै मन्त्री नेम्वाङले निर्वाचनमा जाने कामले कसरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समस्यामा पार्यो ? प्रश्न गरे ।