काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताको क्षेत्रहरु किटान गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिदैँ ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।
अध्यक्ष नेपालले देश कस्तो बनाउने भन्नेकुरा सरकारले चाहेर मात्रै नहुने भन्दै सिंगो प्रणाली नै परिवर्तन गर्नुपर्ने धारणा राखे । प्रणाली बनाउने कुरामा सरकारको भूमिका हुने भएपनि सरकार गम्भिर नभएको उनको भनाइ छ ।
देशको समस्या पहिचान गर्न सकिएन भने समस्या समाधान गर्न नसकिने भन्दै उनले देशमा देखा परेको समस्या पत्ता लगाउनुपर्नेमा जोड दिए ।