काठमाडौं- प्रहरीले नागढुंगाबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बस जाँचका क्रममा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराजलाई आज बिहान पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले झोलामा लुकाएर ल्याएको लागुऔषधसहित गहतराजलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ गहतराजसँग प्रहरीले ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनार्गन, ६४ एम्पुल नुर्फिन र ४० ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ ।
पक्राउ परेका गहतराजमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।