गुल्मी- गुल्मीको रेसुंगा नगरपालिका-१, ओख्रेनीमा ढाड दुखेकाे निको पारिदिने भन्दै तातो फलामले डाम्दा गुल्मीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
रड, पाइपलगायतका फलाम तताएर डाम्दा गुल्मीको इस्मा गाउँपालिका-३ का ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भएको हो ।
घटनामा उनकै छोरा ३४ वर्षीय हुमबहादुर मुखिया र रेसुंगा नगरपालिका–५ की ४० वर्षीया टोपला दमाई गम्भीर घाइते भएकी छन् ।
तातो फलामले डामेकाले उनीहरुको शरीरभर पोलेको घाउ छ । गुल्मी अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि पाल्पा रेफर गरिएको छ ।
मालिका गाउँपालिका-६ अर्जे घर भई तीनधारामा भाडामा बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी पत्नी ३६ वर्षीया शान्तिला श्रेष्ठले मृतक मुखियाको ढाड दुख्ने समस्या निको बनाउने भन्दै रड तताएर डामेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मुखिया झारफुकका लागि पुस २५ देखि सधैंजसो श्रेष्ठको घरमा जाने गरेका थिए । प्रहरीले श्रेष्ठ दम्पत्ति दुवैलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।