आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रम गरी सुरक्षित हुने उपाय सिकाइँदै-Sutra News

आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रम गरी सुरक्षित हुने उपाय सिकाइँदै

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं- आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँने गरिएको छ ।



‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरिएको थियो ।

यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः ५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

यसको पुनःनिर्माणका लागि पाँच वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरिन् । राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेको स्थल रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण यसै वर्ष सम्पन्न भएको छ ।

दिवसका अवसरमा मूल समारोह समितिले आज भक्तपुर मध्यपुरथिमि नगरपालिका वडा नं ८ बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिने जनाइएको छ । यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीकोसमेत आयोजना गरिने जनाइएको छ ।

प्रदर्शनी आज ३ बजेदेखि ५ बजेसम्म हुनेछ । यस्तै भोलिदेखि ५ गतेसम्म बिहान १० देखि १२ बजे, दिउँसो १२ः३० देखि २ः३० एवं दिउँसो तीनदेखि पाँच बजेसम्म खुला रहनेछ । यस वर्ष कोरोना भाइरसको महामारी रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गरिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट