झारफुक गर्ने भन्दै तातो फलामले डाम्दा बिरामीको मृत्यु-Sutra News

झारफुक गर्ने भन्दै तातो फलामले डाम्दा बिरामीको मृत्यु

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

गुल्मी । ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाइप र स्टिलको झाँजर तताएर डाम्दा बिरामीको मृत्यु भएको छ । घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा मालिका गाउँपालिका ६ अर्जेमा घर भई रेसुङ्गा नगरपालिका १ ओख्रेनी तिनधारा बस्ने ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठ रहेका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गर्दा ईश्मा गाउँपलिका ३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर कुमाल (मुखिया)को मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, घटनामा उनका जेठा छोरा ३४ वर्षीय हुम बहादुर सामान्य घाइते भएको अवस्थामा फेला परेका थिए ।

गत आइतबार श्रेष्ठको घरमा गएका मुुखियालाई उपचार गर्ने बहानामा तताएको फलामले डामेको थियो । सन्चो भएर एकछिनमा उठ्छन् भन्दै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले गत शनिबार ४० वर्षीया टोपला दमाईलाई समेत झारफुक गर्ने भन्दै तातो फलामले डामेर घाइते बनाएको खुल्न आएको छ । उनको उपचार भइरहेको प्रहरीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट