‘प्रधानमन्त्रीले जनतालाई धोका दिए’-Sutra News

‘प्रधानमन्त्रीले जनतालाई धोका दिए’

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं । राजनीतिक दलका नेता तथा कानुनविद्हरुले प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भएकाले सच्चिनु पर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन संवैधानिक व्यवस्था र वर्तमान चुनौती विषयक अर्न्तक्रियामा बोल्दै नेता तथा कानुनविद्हरुले असंवैधानिक कदम सच्चिनु पर्ने बताएका हुन् ।



कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षका अध्यक्ष नेपालले संविधानमा गरिएको व्यवस्था र विगतमा गरिएका अभ्यासलाई ध्यान दिँदै सर्वोच्च अदालतबाट सही निर्णय हुनेमा विश्वास व्यक्त गरे । यस कदमले मुलुकमा अस्थिरता जन्माएको भन्दै उनले सडक संघर्षमार्फत नागरिक आउनु पर्ने बेला भएको बताए ।

यसैगरी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमलाई सच्याउनु पर्ने तर्क राखे । संविधानले नदिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गर्न नपाउने बताउँदै उनले भने, ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार संविधानले दिएको छैन ।’

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान मिच्ने प्रवृतिलाई अन्त्य गर्न पुर्नस्थापनाले मात्रै नपुग्ने धारणा राखे । संविधानको उल्लंघन गरी प्रधानमन्त्रीले जनतालाई धोका दिएको उनको भनाई थियो । यस्तै, पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले मुलुकको संविधानलाई सर्वोपरी मानेर अनुशासनमा बसेर काम गर्नुपर्ने बताइन् ।

प्रतिनिधि सभा विघटनको कदमविरुद्ध सम्पूर्ण राजनीतिक दल, नागरिक समूह, बुद्धिजिवीलगायत विभिन्न समुहले निरन्तर आन्दोलन तथा खबरदारी गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट