बन्दुक र वन्यजन्तुको अंगसहित पाँच जना पक्राउ-Sutra News

बन्दुक र वन्यजन्तुको अंगसहित पाँच जना पक्राउ

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।



चोरी शिकारी नियन्त्रण एकाईले त्रिपुरासुन्दरी नगरपालिका ११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो । स्थानीयवासीका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–११ का मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, वडा नं ७ का गोकर्ण बुढा, चन्द्र केसी र सूर्यबहादुर बुढा छन् ।

उनीहरुबाट दुई थान भरुवा बन्दुक, ५० थान गोली, दुई डिब्बा बारुद, बारुद भरिएको वन्यजन्तुको जस्तो देखिने दुई सिङ, कस्तुरीको दाराजस्तै देखिने ६ वटा, बन्दुकको केपको बट्टा, संरक्षित वन्यजन्तु कस्तुरी जस्तो देखिने दुईवटा खुट्टा, पासोमा प्रयोग गरिने १४ थान तारलगायत सामग्री बरामद गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिए ।

पक्राउ परेका सबैलाई हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले बताए । निकुञ्जले यसअगाडि पनि ३६ थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल, इन्सास राइफलका गोली पनि बरामद गरेको थियो ।

पछिल्लो समय वन जंगल, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणका लागि निकुञ्जले स्थानीयवासीसँग समन्वय गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट