भारतमा विश्वकै ठूलो खोप अभियान सुरु, कोरोनाको अन्त्य हुने घोषणा-Sutra News

भारतमा विश्वकै ठूलो खोप अभियान सुरु, कोरोनाको अन्त्य हुने घोषणा

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । भारतमा कोरोना भाइरुसविरुद्धको खोप लगाउने अभियान आजदेखि सुरु भएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन् । यस अभियानलाई विश्वकै सबैभन्दा ठूलो खोप अभियान भनिएको छ ।



अभियानअन्तर्गत सबैभन्दा पहिला कोरोनाविरुद्धको लडाईको भागमा खटिएका अधिकारीहरुलाई खोप लगाउने भएको छ । यस क्रमको पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ ।

खोप लगाउनका लागि देशभर तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको छ । ती सबै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । आज पहिलो दिन हरेक खोप केन्द्रमा सय जनाको दरले खोप लगाउन सक्ने जनाइएको छ ।

खोपका लागि दैनिक बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनले जानकारी दिए । उनले कोरोनाविरुद्धको खोप अभियान सुरु हुनुलाई ‘कोरोनाको अन्त्य नै सुरु भएको’ रुपमा लिनु भएको छ ।

अर्को चरणमा ५० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई मात्रै खोप दिइने मापदण्ड बनाइएको सरकारी अधिकारीहरुले जनाएका छन् । वृद्धवृद्धाहरु कोरोनाबाट संक्रमणको उच्च जोखिम हुने र संक्रमित भइसकेपछि जित्न पनि गाह्रो हुने भएकाले उनीहरुलाई प्राथमिकतामा राखिएको उनीहरुले जनाएका छन् ।

भारतमा दुई प्रकारका खोप लगाउनका लागि सरकारले अनुमति दिएको छ । यही ३ जनवरीमा खोप लगाउन अनुमति दिने निर्णय सरकारले गरेको थियो । भारत बायोटेकले बनाएको कोभ्याक्सीन र अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्राजेनेका कम्पनीले बनाएको कोभिशिल्ड प्रयोग गर्न सरकारले अनुमति दिएको हो ।

खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारीविरुद्धको संक्रक्रमण भारतीयहरु एकताबद्ध भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको बताए ।

‘यती धेरै जनसंख्या भएको भारतमा महामारीका समयमा मानिसहरुले स्वास्थ्य मापदण्ड अपनाउँदा क्षति कम भएको छ । एक करोडभन्दा बढी मानिसहरुले महामारीसँग लडेका छन् र जितेका छन् । अन्य मुलुकभन्दा भारतमा महामारीको प्रभाव निकै न्युन छ’ उनले भने । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट