प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनदेखि किन डराएको ?’-Sutra News

प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनदेखि किन डराएको ?’

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो संघर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारामा निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को काठमाडौंमा उपस्थित भएका आफ्नो पक्षका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरेको स्पष्ट पारे । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ संकेत गर्दै उनले आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै भने, “मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौ । सक्दैनौ । दिइने छैन ।”

प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने परिभाषा आएको देखेर आफू चकित परेको बताए । उनले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताएका थिए ।

उनले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गरे ।

ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने जनाए ।

कार्यक्रममा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले ओली नेतृत्वको नेकपाले नै आधिकारिकता र सूर्य चिन्ह पाउने भन्दै ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट