काठमाडौं । कोरोना भाइरस (कोभिड १९)का कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौं महानगरपालिकाका विद्यालय आइतबारदेखि खुलेका छन् । कोभिड १९ संक्रमणको कारण लकडाउन भएपछि बन्द रहेका महानगरभित्रका विद्यालयमा आजदेखि भौतिक रुपमा उपस्थित भई सञ्चालन भएको हो ।
काठमाडौं महानगरले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालय खोल्न सकिने बताएपछि आजदेखि विद्यालय खुलेको हो । कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेर विद्यार्थीको चाप घटाएका छन् ।
विजय स्मारक माध्यामिक विद्यालयका प्रध्यानाध्यापक डिल्लीप्रसाद शर्माले विद्यालय भौतिक रुपमा पठन पाठन गर्ने गरी खुलेको जानकारी दिए । नर्सरीदेखि कक्षा ५ सम्म एक सिफ्ट र ५ कक्षादेखि १० कक्षासम्म अर्को सिफ्ट गरी विद्यालय सञ्चालन गरिने उनले बताए ।
महानगरका सम्पूर्ण विद्यालय भने खुल्न सकेको छैन । खुल्न बाँकी भएका केही विद्यालयहरु सञ्चालन गर्ने तयारीमा रहेका छन । रत्नराज्य माध्यामिक विद्यालयका प्रध्यानाध्यापक रामाशिस यादव शिक्षक र विद्यार्थी विद्यालय आउन उत्सुक भए पनि पूर्वतयारी गर्न समय लाग्ने भएकाले केही दिनमा विद्यालय खोल्ने बताए ।