मौसम सफा हुन केही दिन लाग्ने, वर्षाको सम्भावना कम-Sutra News

मौसम सफा हुन केही दिन लाग्ने, वर्षाको सम्भावना कम

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौं । केही दिनदेखि खराब भएको मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भू भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।



उक्त प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने भएकाले मौसम पूर्ण रुपमा सफा हुन केही दिन लाग्ने भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए । उनका अनुसार तत्काल वर्षा हुने सम्भावना भने छैन ।

वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकाले वर्षाको सम्भावना नभएको बताइएको छ । वर्षा हुन प्रयाप्त मात्रामा जलवाष्युक्त हावा प्रवेश हुनु पर्दछ । यस वर्ष माघ सुरु हुँदा पनि हिउँदे वर्षा हुन सकेको छैन ।

हाल देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । राति देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री र अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस २.६ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट