काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताएका छन् ।
आइतबार अखिल नेपाल महिला संघको काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफ लिन तयार रहेको बताएका हुन् ।
आफूले संविधानसम्मत् तथा कानुनसम्मत् काम गरेकोले जवाफदेहिता लिने उनको भनाई छ । आफूले गरेको काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको उनले दाबी गरे ।
प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादा माथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको बताए । निर्वाचन आयोगलाई निर्वाचन नर्गन आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको विपरित लागेको प्रधानमन्त्री ओलीले बताए ।
उनले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकिकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताए । विगत ३ वर्षको अवधिमा पार्टीको नीति, उद्देश्य, गन्तव्य केही नभएको उनको भनाइ छ ।