सुडानमा दुई दिनदेखि झडप जारी, कम्तीमा ४८ जनाको मृत्यु-Sutra News

सुडानमा दुई दिनदेखि झडप जारी, कम्तीमा ४८ जनाको मृत्यु

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौं । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ जनाको मृत्यु भएको छ । सुडानी राज्यद्वारा सञ्चालित समाचार संस्था (सुना)का अनुसार आइतबार साे घटनाबाे जानकारी दिएको हो ।



आक्रमणमा कम्तीमा ९७ जना घाइते भएका छन् । उनीहरुकाे उपचार भइरहेकाे समाचार स‌ंस्थाले जनाएकाे छ । “शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्यांकअनुसार ४८ जना मारिएका र ९७ जना घाइते भएका छन्,” सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उद्धृत गरी लेखेको छ ।

सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले जनाएको छ । यसैबीच सुडानको मन्त्रिपरिषद्ले एल जेनिनालाई अवस्थाको मूल्यांकन गरी अवस्थालाई शान्त बनाउन तथा राज्यमा शान्ति र स्थायित्व कायम गर्न तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको जनाएको छ ।

साे क्षेत्रमा अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा आदेश जारी गरेका छन् । पश्चिम डार्फर राज्यका गभर्नर मोहम्मद अब्दल्ला अल डोमाले एल जेनिनामा दुई नागरिकको बिचमा भएको लडाईबाट शुरू भएको हिंसा अन्त्य गर्न सेनालाई दिएको आदेशपछि अवस्था थप जटिल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट