अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’-Sutra News

अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं- चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उडे । त्यो दृश्य बडो आकर्षक र भावुक पनि थियो । उनलाई त्यहाँबाट गरिएको विदाइको यो एक दृश्यमा धेरै क्यामेराका फोकल लेन्सहरु उनीतर्फै तेर्सिएका थिए । प्रत्यक्ष प्रशारण हेर्ने दर्शक पनि त्यो दृश्यले भावुक थिए । 



त्यस समय ओबामालाई यसरी भव्य समारोहबीच विदाई गरेका वर्तमान राष्ट्रति डोनाल्ड ट्रम्पले यसपटक भने त्यसरी विदाई नलिने भएका छन् । उनले आफू राष्ट्रपति जो बाइडेनको सपथ समारोहमा सहभागी समेत नहुने बताएका छन् । जसका कारण यसपटक भने नयाँले अघिल्लो कार्यकालका राष्ट्रपतिलाई विदाई गरेको यो बडो आकर्षक दृश्य देखा नपर्ने प्रायः निश्चित छ । यही २० जनवरीमा हुन लागेको सो समारोहमा आफू उपस्थित हुन्छु भनी राष्ट्रपति ट्रम्पले पुनः भने  भने कुरा बेग्लै भयो, अन्यथा त्यो दृश्य नदेखिने अमेरिकी ‘मिडिया’का रिपोर्टिङमा आइरहेकै छ । 

त्यो विदाई एक किसिमको शक्ति हस्तान्तरणको आकर्षक र महत्वपूर्ण संयोग पनि हो । यस क्षणले नयाँ राष्ट्रपति आउने र अघिल्लो कार्यकालका निवास फर्किने मात्र सन्देश दिँदैन कि अमेरिकामा सत्ता हस्तान्तरणसँगै पूर्व र वर्तमानका बीचको आपसी सौहार्दता, प्रजातान्त्रिक संस्कार र नागरिकको निर्णयको सर्वोच्चताको ऐतिहासिक सन्देश पनि सम्प्रेषण गर्ने गर्दछ । तर यसपटक यो किन नहुने देखिन्छ भने जो बाइडेनको सपथमा नजाने बताइसकेका ट्रम्पले बाइडेनबाट यस्तो विदाई पाउने सम्भावना छैन या न्यून छ । त्यसो त राष्ट्रपति ट्रम्पले नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई बधाईसम्म पनि दिएका छैनन । यसैले पनि उनले यो भव्य समारोहमा उपस्थिति नजनाउने बताइएको होला ।  

शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने क्रममा ओबामाले ओभल अफिसको एक घर्रामा एउटा हस्तलिखित पत्रमा यस्तो लेखेका थिए, ‘यो एक अद्वितीय र अतुलनीय कार्यालयमा म जस्तो एक सामान्य व्यक्तिलाई पनि काम गर्ने मौका मिल्यो, जुन हामीहरुको लागि बडो ठूलो सौभाग्य हो ।’ उहाँले लेखेको सो पत्रमा कानूनी राज्य, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिकको सर्वोच्चतालाई सदैव आत्मसात गर्नुपर्दछ भनी उल्लेख गरिएको छ ।  

तर नागरिक सर्वोच्चताको ओबामाको सो उद्गार अहिलेका राष्ट्रपति ट्रम्पबाट भने आउने जस्तो प्रायः देखिन्न । बरु त्यो सर्वोच्चता भत्किएको अवस्था देखिँदैछ । गत जनवरी ६ मा राष्ट्रपति ट्रम्पकै समर्थकले मुलुकको संसद भवन क्यापिटल हिलमा गरेको आक्रमणले नागरिक सर्वोच्चतामाथिको राष्ट्रपतिको निष्ठामाथि नै सन्देह पैदा गरेको मात्र होइन अमेरिकी इतिहासका लागि सदा यो प्रश्न थपिदिएको छ । यसैकारण पनि उनले कार्यकाल सकिन केबल हप्ता दिन बाँकी रहँदासम्म पनि ह्वाइट हाउसमा महाभियोग खेप्न विवश छन् । विश्वको एक सर्वाधिक शक्तिशाली व्यक्तिले आफ्नो चार वर्षको कार्यकाल सकेपछिको विदाई कस्तो हुँदैछ भन्ने कुरा त बेग्लै भयो ।  

अमेरिकाको इतिहासमा नै पहिलो पटक राष्ट्रपतिमाथि दुई महाभियोग दर्ता भए र कंग्रेसले पास पनि गर्यो । उता रिपब्लिकन पार्टीका कम्तीमा १० जना सांसदहरु उनीविरुद्धको महाभियोगमा मतदान गर्न तयार भएको भन्दै प्रतिक्रिया दिए र गरे पनि । जनवरी २० को समारोहलाई कसरी राम्रो, आकर्षक बनाउने र आफूले बहिर्गमनअघिको अवस्थाको राम्रोको जस कसरी लिने भनेर तयारी गर्नुपर्ने बेलामा आज उनी महाभियोग र आफ्नै पार्टीका सांसदको समेत विरोधको सामना गर्दै छन् । उनको आलोचना देशभित्र मात्र सीमित छैन कि प्रजातान्त्रिक पद्धतिको उदाहरण दिने गरिएको विश्व समुदायले यतिखेर उनीमार्फत् अमेरिकी नागरिकलाई यसै विषयमा प्रश्न पनि उठाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट