रक्सौलबाट पेट्रोलियम पदार्थ आयात बन्द-Sutra News

रक्सौलबाट पेट्रोलियम पदार्थ आयात बन्द

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं । नेपाल आयल निगमले रक्सौल डिपोबाट ल्याउँदै गरेको पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले दुई वर्षदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालन गर्न समस्या भएको जनाउँदै आएको थियो ।



आइओसीले समस्या भएको लामो समयदेखि जानकारी गराएको भन्दै निगमले उक्त डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको हो । उक्त डिपो बन्द गर्ने निर्णयपछि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिरहेका बारा र पर्साका पेट्रोलियम व्यवसायीले नेपाल आयल निगमको २ नम्बर प्रादेशिक कार्यालयमा खरिदको व्यवस्था भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनका अनुसार यसअघि रक्सौल नाकाबाट लोड लिइ निगमको वीरगञ्ज शाखा कार्यालयबाट बिलिङ गर्दै आएको पेट्रोलियम पदार्थका अधिकृत बिक्रेताले अब २ नम्बर प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ लिने र बिलिङ गर्नुपर्ने हुन्छ ।

निगमले लागू गरेको नयाँ व्यवस्थाका सम्बन्धमा केही अन्योल उत्पन्न भएपछि निगमको केन्द्रीय कार्यालय बबरमहलबाट गएको टोली र बारा÷पर्सा पेट्रोलियम डिलर्स एशोसिएसन तथा स्थानीय प्रशासनबीच छलफल गरेको थियो ।

मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको अधिकतम उपयोग नहुँदासम्म अथवा इण्डियन आयल कर्पोरेशनले मोतिहारी डिपोको संरचना निर्माण कार्य पूरा नभएसम्म पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुने तथा निगमको लागत बढ्ने जनाइएको छ । गत डिसेम्बरमा अमलेखगञ्ज डिपोबाट एक लाख किलोलिटरभन्दा बढी पेट्रोलियम पदार्थ आपूर्ति गर्न रक्सौल डिपोबाट ४० हजार किलोलिटर र पाइपलाइनबाट ६० हजार किलोलिटर आयात भएको निगमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट