महाअभियोग बोकेर घर फर्किँदै अमेरिकी राष्ट्रपति ट्रम्प-Sutra News

महाअभियोग बोकेर घर फर्किँदै अमेरिकी राष्ट्रपति ट्रम्प

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले दोस्रोपटक महाअभियोग प्रस्ताव पारित गरेको छ । अमेरिकी इतिहासमा दुई पटकसम्म महाअभियोग लाग्ने पहिलो राष्ट्रपति ट्रम्प बन्न पुगेका छन् ।



दुई दिनपछि राष्ट्रपति ट्रम्प महाअभियोगसहित पदबाट विदाई हुने भएका छन् । अमेरिकी संसद् भवनमा राष्ट्रपति ट्रम्पका समर्थकले केही दिनअघि आक्रमण गरेपछि उनीविरुद्ध अमेरिकाका डेमोक्रयाटट सांसदहरूले महाभियोग प्रस्ताव गरेका थिए ।

सार्वजनिक मत परिणामअनुसार महाअभियोग प्रस्तावको पक्षमा दुई सय ३२ मत परेको थियो । महाअभियोग लगाउन दुई सय १७ मत आवश्यक हुने गरेको छ । यहाँको हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमोक्र्याट पार्टीका दुई सय २२ जना सदस्य रहेका छन् ।

यसका लागि राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका १० जना सांसदले समेत महाअभियोगको पक्षमा मतदान गरेका थिए । महाभियोगको प्रस्तावको विपक्षमा भने एक सय ९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए । अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सले सन् २०२० मै पनि उनीविरुद्ध महाअभियोगको प्रस्ताव पारित गरेको थियो । त्यस समयमा रिपब्लिकनका तर्फबाट एकजना सांसदले पनि महाअभियोगको पक्षमा मत दिएका थिएनन् ।

अमेरिकी संसद्को तल्लो सदनले पारित गरेको महाअभियोग प्रस्ताव अब यहाँको माथिल्लो सदन अर्थात् सिनेटबाट पारित हुनु पर्नेछ । उक्त प्रस्ताव पारित हुन सिनेटको मतको दुई तिहाई आवश्यक हुन्छ । यस प्रयोजनका लागि सिनेटमा कम्तीमा १७ जना रिपब्लिकन सिनेटर ट्रम्पको विपक्षमा अर्थात् महाअभियोगको पक्षमा उभिनु पर्नेछ ।

योसँगै राष्ट्रपति ट्रम्प आफ्नो कार्यकाल सकेर निवास फर्किँदा अभियोग बोकेरै फर्किने भएका छन् । यस्तै, नागरिक अभिव्यक्ति स्वतन्त्रताका सारथि बनेको फेसबुक तथा ट्वीटरलगायत सामाजिक सञ्जालले समेत उनलाई प्रतिबन्ध गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट