ताजा जनादेश आवश्यक हुँदा निर्वाचन हुन्छ : राष्ट्रपति भण्डारी-Sutra News

ताजा जनादेश आवश्यक हुँदा निर्वाचन हुन्छ : राष्ट्रपति भण्डारी

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा ताजा जनादेश आवश्यक रहेको बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६-७७ ग्रहण गर्दै उनले शान्ति, स्थिरता र विकासका लागि देशमा ताजा जनादेश आवश्यक रहेको बताएकी हुन् ।



कार्यक्रममा बोल्दै उनले सरकारले तोकेको समयमा प्रतिनिधि सभाको निर्वाचन गराउन जरूरी भएको बताएकी थिइन् । उनले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गरिन् ।

निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता गराउन तथा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न सुझाव दिएकी थिइन् । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरिसकेको छ ।

प्रतिवेदनमा मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल व्यवस्थापन, वित्तीय स्रोत परिचालन, निर्वाचन सञ्चालन तथा व्यवस्थापनलगायत विविध विषय समावेश छ ।

प्रतिवेदन पेश गर्ने कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्त नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल तथा आयोगका सचिवलगायत सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट