आज राति पानी पर्ने सम्भावना-Sutra News

आज राति पानी पर्ने सम्भावना

मंगलबार, ६ माघ २०७७

मंगलबार, ६ माघ २०७७

काठमाडौं- देशका अधिकांश क्षेत्रमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन् । आज राति पनि प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका आज राति एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । अहिले बिहान प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ । हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

यस्तै तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् । ‘देशको विभिन्न भूभागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु् र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ’, महाशाखाले सूचना जारी गरेर भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट