

काडमाडौं- भारतको गुजरात राज्यअन्तर्गत सुरतको कासाम्बा क्षेत्रमा ट्रकले ठक्कर दिँदा १५ जनाको मृत्यु भएको छ । सोमबार राति भएको ट्रक दुर्घटनामा परी ७ जना महिला, ७ जना पुरुषसहित एक शिशुको मृत्यु भएको समाचारमा जनाइएको छ ।
घटनामा घाइते भएकामध्ये ६ जनाको उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ । सडकमा सुतिरहेका मजदुरलाई ट्रकले किचेको थियो ।
दुर्घटनामा मृत्यु भएकाको परिवारलाई दुई लाख भारतीय रुपैयाँका दरले राहत दिने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका छन् । ‘सुरतमा भएको दुर्घटनाप्रति अत्यन्त दुःख लागेको छ, यो घटना ज्यादै पीडादायी छ, शोकाकुल परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गदर्छु’ प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन् ।
उनले घाइतेहरुलाई समेत ५० हजार भारतीय रुपैयाँका दरले राहत दिने जनाएका छन् । एजेन्सी