काठमाडौं- सुनसरीको दुहबी नगरपालिका १० स्थित भित्री सडकमा माइक्रो र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा ३ का ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोका सहचालक सप्तरी राजविराज १ का २२ वर्षीय शंकर यादव र एक जना महिलाको सनाखत हुन बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
दुर्घटनामा मोरङ विराटनगर १४ का ५२ वर्षीय जयनारायण यादव, सप्तरी मान्सापुर नगरपालिकाका ६० वर्षीय इन्द्रकलादेवी सिंह, राजविराज ७ का १४ वर्षीय नीरज यादव, इनरुवा ८ का ५२ वर्षीय चन्द्र मेहता, राजविराज ७ का ३८ वर्षीय सुरेश मण्डल, भोक्राहानसिंङ ३ का १९ वर्षीय प्रशान्त यादव, बराहक्षेत्र १० का २३ वर्षीय भरत यादव, इनरुवा ८ का ५२ वर्षीया शान्ति मेहता, इनरुवा ३ का ३० वर्षीय मनोज अधिकारी र २२ वर्षीया प्रशंसा सुवेदी घाइते भएका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
दुहबीबाट इनरुवातर्फ आउँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको को ३४ प ४६९४ नम्बरको मोटरसाइकल आपसमा ठोएको थियो । माइक्रो चालक फरार भएकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।