काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खतराको रूपमा औंल्याएका छन् । डा.भट्टराईले बुधबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अहिले ओली प्रतिगमन प्रमुख खतरा हो । कुनै किन्तु परन्तु नगरौं ।’
प्रमुख प्रतिपक्ष दल कांग्रेसलाईसमेत व्यंग्य गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले बढी जानेका भन्ठान्नेहरु तटस्थ बस्ने गरेको आरोप लगाए । ठीक र बेठीक बीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरु र गहिरो ज्ञान नभएका सर्वसाधारणहरु प्रायः तटस्थ बस्ने गरेको डा.भट्टराईको भनाइ छ ।
उनले लेखेका छन्, ‘यस्तो बेला तटस्थताले बेठीक-असत्य-अन्यायलाई मद्दत गर्छ । अनि एक पटकमा एउटै कुरा प्रधान हुन्छ । अरु सहायक हुन्छन् ।’
देउवाले संसद पुनर्स्थापना या निर्वाचन के भन्ने विषयमा कांग्रेसले आफ्नो धारण बनाउन नसकेको डा.भट्टराईको बुझाइ छ । पछिल्लो समय देउवा सर्वोच्च अदालतले संसद पुनर्स्थापना या निर्वाचन जे निर्णय गरेपनि आफूलाई स्वीकार्य भएको बताउँदै आएका छन् ।
ठीक र वेठीक वीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्राय:तटस्थ बस्छन्।यस्तो बेला तटस्थताले वेठीक/असत्य/अन्यायलाई मदत गर्छ।अनि एक पटकमा एउटै कुरा प्रधान हुन्छ;अरू सहायक हुन्छन्।अहिले ओली प्रतिगमन प्रमुख खतरा हो।कुनै किन्तुपरन्तु नगरौं!
— Baburam Bhattarai (@brb1954) January 20, 2021