वैशाखमा चुनाव घोषणा हात्तीको देखाउने दाँतमात्र हो, कुनै हालतमा चुनाव हुँदैन: बाबुराम-Sutra News

वैशाखमा चुनाव घोषणा हात्तीको देखाउने दाँतमात्र हो, कुनै हालतमा चुनाव हुँदैन: बाबुराम

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

भजनी- जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी देशलाई गम्भीर संकटमा धकेलेको आरोप लगाएका छन् । टीकापुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले संसद् विघटन हुँदा लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने जोखिम बढेको बताए ।



अध्यक्ष डा.भट्टराईले भने, ‘अहिले मुलुक गम्भीर संकटमा उभिएको छ । यो बेला सबै राजनीतिक दल, नागरिक समाज एक ठाउँमा उभिनुपर्ने बेला आएको छ ।’ संसद् विघटन गरी वैशाखमा घोषणा गरेको चुनाव हात्तीको देखाउने दाँतमात्र भएको उल्लेख गर्दै उनले वैशाखमा कुनै हालतमा पनि चुनाव हुन नसक्ने बताए ।

पूर्वप्रधानमन्त्री डा.भट्टराईले भने, ‘कांग्रेस, जसपालगायतका दलहरुले चुनाव आउँछ भनेर र्याल काढ्ने समय यो होइन । अहिले सबै शक्ति एक भएर राष्ट्र र राष्ट्रियताको पक्षमा उभिनुपर्ने बेला हो ।’

उनले आफूहरू संसद् पुनःस्थपनाको पक्षमा छौँ भन्दै जुनसुकै हालतमा पनि संसद् चलायमान हुनुपर्ने बताए । जनताको जनमतको कदर गर्न पनि न्यायालयले न्याय गर्नेमा आफू विश्वस्त डा.भट्टराईको भनाइ छ ।

डा.भट्टराईले संसद् विघटनसँगै अन्तर्राष्ट्रिय शक्ति पनि नेपालको आन्तरिक मामिलामा चासो राख्न थालेको बताउँदै नेपालले आफ्नो आन्तरिक मामिला आफैँ हल गर्नसक्ने भएकाले त्यसतर्फ नलाग्न ती शक्तिलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट