अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडेनले लिए सपथ, कोभिड रोकथाम मुख्य प्राथमिकता-Sutra News

अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडेनले लिए सपथ, कोभिड रोकथाम मुख्य प्राथमिकता

बिहिबार, ८ माघ २०७७

बिहिबार, ८ माघ २०७७

वासिङटन- अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले सपथ गराएका हुन् ।



यसअघि उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसलाई सर्वोच्च अदालतकै न्यायाधीश सोनिया सोतोमायोरले सपथ गराएकी थिइन् ।

कोभिड-१९ र सुरक्षा चुनौतीका कारण राष्ट्रपतिको सपथ कार्यक्रमलाई सामान्य बनाइएको थियो । लाखौं मानिस उपस्थित हुने प्रचलन रहे पनि यसपटक थोरै संख्याका मानिस मात्र समारोहमा उपस्थित थिए ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले ‘आजको दिन प्रजातन्त्रको विजय हो, एउटा आशा र एकताको दिन हो’ भने ।

अहिले धेरै काम गर्नुछ, चुनौती धेरै छन्, कोभिड-१९ को ठूलो मूल्य चुकाउनु परेको छ भन्दै बाइडेनले ह्वाइट सुप्रिमेसिस्ट जस्ता तत्वलाई परास्त गरेर मुलुकलाई एकताबद्ध बनाइनेछ बताए ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा सहभागी समेत नभई ह्वाइट हाउसबाट बुधबार बिहान गृहराज्य फ्लोरिडातर्फ प्रस्थान गरे ।

अमेरिकी इतिहासमा नयाँ राष्ट्रपतिलाई बधाई समेत नदिई बहालवाला राष्ट्रपतिले ह्वाइट हाउस छाडेको समकालीन अमेरिकामा यो पहिलो घटना हो । यद्यपी यसअघि अमेरिकी इतिहासमा तीनपटक सन् १८०१, १८२९ र १८६९ मा यस्तो घटना भइसकेको छ ।

ह्वाइट हाउसबाट अमेरिकी सेनाको हेलिकप्टरबाट ज्वाइन्ट बेस एन्ड्रु पुगेका ट्रम्पले त्यहाँ उपस्थित सानो संख्याका समर्थक र परिवारका सदस्यलाई सम्बोधन गर्दै अमेरिकाको नयाँ प्रशासनले अमेरिकी जनताको भावना अनुसार काम गर्ने विश्वास व्यक्त गरे ।

उनले त्यस समारोहमा पनि नयाँ राष्ट्रपति जो बाइडेनको नाम नलिई आफूले अमेरिकी अर्थतन्त्र उकास्न निरन्तर कार्य गरेको दाबी गर्दै ‘फेरि भेटौंला’ भन्दै विदा लिएका थिए । राष्ट्रपतिले सपथ ग्रहण समारोहमा उपस्थित नहुने बताएर हिँडे पनि उपराष्ट्रपति माइक पेन्सले उक्त समारोहमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट