काठमाडौं- आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ ।
योसँगै लामिछानेलाई सन् २०२१ को आइपीएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । आइपीएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो ।
आइपीएलको खेलाडी अनुबन्धन (अक्सन) आगामी फेब्रुअरी दोस्रो साता हुने बताइएको छ । लामिछानेलाई अब अर्को टोलीले आइपिएलका लागि लिने वा नलिने भन्नेबारे त्यही बेला टुंगो लाग्नेछ ।
दिल्लीले लामिछानेलाई सन् २०१८ को आइपीएलका लागि ३२ लाखमा पहिलोपटक टोलीमा अनुबन्ध गरेको थियो । त्यस वर्षको आइपीएलमा उनले तीन खेलमा खेल्ने मौका पाउँदा पाँच विकेट लिएका थिए ।
दोस्रो वर्ष सन् २०१९ को आइपीएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनैपनि खेलमा खेल्ने मौका दिइएको थिएन । दिल्लीले लामिछानेसँगै इङ्ग्ल्याण्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ ।