नेपाल-अमेरिका सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपतिकाे विश्वास-Sutra News

नेपाल-अमेरिका सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपतिकाे विश्वास

बिहिबार, ८ माघ २०७७

बिहिबार, ८ माघ २०७७

काठमाडौं- मुलुकको उच्च नेतृत्वबाट संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित नेतृत्वले कार्यभार सम्हालेकामा शुभकामना सन्देश सम्प्रेषण भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जोसेफ रोबिनेट्टी वाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हालेकोमा बधाई ज्ञापन गरेकी छन् ।



नेपाल-अमेरिका सम्बन्ध सुमधुर रहेको जनाउँदै राष्ट्रपति भण्डारीले आज उनलाई पठाएको बधाई सन्देशमा नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगको सराहना गरेकी छन् ।

उन्नत एवं बहुआयमिक नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा अझ विस्तृत एवं घनीभूत हुने विश्वास व्यक्त गर्दै उनले कोभिड–१९ समस्या सम्बोधन गर्न नवनेतृत्वलाई सफलता मिल्ने कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले आफ्ना अमेरिकी समकक्षीको कार्यकालको सफलताको कामना पनि गरेकी छन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कमलादेवी ह्यारिसलाई बधाई सन्देश पठाउँदै अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति निर्वाचित भएकोमा प्रशंसा गरेका छन् ।

लैङ्गिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तनजस्ता विषयलाई अमेरिकाको नयाँ नेतृत्वले प्राथमिकतामा राखेकामा उपराष्ट्रपति पुनले सराहना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट