काठमाडौं- कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसेपासे र नेकपाका कार्यकर्ता बाहेक अरूलाई सुखी पार्न नसकेको टिप्पणी गरेका छन् ।
संसद् विघटनको कदमविरुद्ध कांग्रेस काठमाडौं महानगरपालिका वडा नं.११ ले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीले निर्वाचनमा जाँदाखेरी स्थिरता दिने र आम जनताको जीवनलाई सुखी पार्ने प्रतिबद्धता गरेको भएपनि आफ्नो आसेपासे र नेकपाका मान्छेबाहेक आम जनतालाई केहि पनि दिन नसकेको बताएका हुन् ।
नेता सिंहले प्रधानमन्त्री ओलीलाई संविधान तथा संघीय कानुन अनुसार राज्य सञ्चालन गर्ने मात्रै अधिकार भएको भन्दै ओलीले भन्ने गरेजस्तो संसद विघटनको विशेषाधिकार संविधानमा नभएको बताए ।
संविधान अनुरुप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओली निर्वाचन नगराउनेतिर गएको आभाष भएको उनको भनाइ छ ।