काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नामजस्तै खड्ग प्रहार संविधानमा गरेको बताएका छन् । आफ्नो समूहले प्रतिगमनविरुद्ध शुक्रबार गरेको शक्ति प्रदर्शनपछि सभामा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नामभित्र लुकेको खड्ग अहिले उनकै व्यवहारबाट साकार पारेको पनि बताएका छन् । उनले भने, ‘उनले आफ्नो नामजस्तै संविधानमाथि खड्ग प्रहार गरेका छन्, लोकतन्त्रमाथि खड्ग प्रहार गरेका छन्, स्थायीत्वमाथि खड्ग प्रहार गरेका छन्, पार्टीमाथि खड्ग प्रहार गरेका छन् ।’
उनले ओलीले संविधान विघटनको गल्ती सच्याएर माफी मागे माफी दिनेबारे विचार गरिने बताएका छन् । ‘केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्, केपी ओली सामूहिकतामा विश्वास गर्ने मान्छे होइनन्,’ उनले भने ।