खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै-Sutra News

खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताए ।



भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि संघ, प्रदेश र स्थानीय तहमा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई मन्त्रालयको वेवसाइटमा लगईन गरी तोकेको ढाँचामा विद्युतीय प्रणालीमा दुई दिनभित्र पठाउन बिहीबार निर्देशन दिइएको हो ।

वरिष्ठ स्वास्थ्य प्रशासक डा.शर्माका अनुसार स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शहवाहन चालक, कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाईकर्मीको सूचीसम्बन्धित संस्था प्रमुखद्वारा प्रमाणित गरी मन्त्रालयको विद्युतीय प्रणालीमा पठाउनुपर्ने हुन्छ ।

मन्त्रालयका उपसचिव मुक्ति खनाल अहिलेसम्म ५० हजारभन्दा बढी खोप लगाउने व्यक्ति सूचीकृत गरिएको जानकारी दिए ।

भारत सरकारले कोभिड-१९ विरुद्धको खोप कोभिशिल्ड बिहीबार १० लाख मात्रा सरकारलाई उपलब्ध गराएको थियो । अहिले उपलब्ध खोप स्वास्थ्य सेवा विभागको केन्द्रीय चिस्यान केन्द्रमा भण्डारण गरिएको छ ।

एक व्यक्तिलाई दुई मात्रा दिइने उक्त खोप पाँच लाख जनालाई दिइने सरकारको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट